
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेसनको शनिबार उद्घाटन गरेका छन् । रामेछापको मन्थली –१३ स्थित साँखे (फुलासी)मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेसन प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।
सबस्टेसन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्माण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सबस्टेसन हो ।
तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेसनमा जोडिएको छ । माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखू चौथो र २४.२ मेगावाट क्षमताको लिखू खोला ‘ए’ बाट उत्पादित विद्युत् यही सबस्टेसनमा जोडिएको छ ।
त्यस्तै, नयाँ खिम्ती सबस्टेसनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केबरस्थित ४००/२२०/१३२ केभी सबस्टेसनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ ।
नयाँ खिम्ती सबस्टेसनबाट ४६ किमी लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघुस्थित १३२ के.भी. सबस्टेसन हुँदै काठमाडौं उपत्यकासहित नेपालको राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत् प्रवाह भइरहेको छ ।
नयाँ खिम्ति सबस्टेसनमा आठवटा २२० केभी ग्यास इन्सुलेटेट स्विचगियर बे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्विचगियर बे छन् । साथै, सबस्टेसनमा २२०/१३२ के.भी., ३३.३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफर्मरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहेको सबस्टेसनमा हाल करिब ५५ रोपनीमा २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेसन निर्माण भएको छ ।