पल शाह पुर्पक्षका लागि थुनामा

बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक नाबालिग किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा उनलाई थुनामा पठाउन आदेश दिएको हो

  अनलाइन हिमाल  354 पटक हेरिएको

काठमाडौं – अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक नाबालिग किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा उनलाई थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

१६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले शाहविरुद्ध अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएका थिए ।

जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । अनुसन्धान जारी रहँदा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा पनि सोही विषयमा जाहेरी परेको थियो ।

अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध जबर्जस्ती करणी मुद्दामा मतियार बनेको अभियोग दर्ता गरेको थियो ।

आदेश

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार