विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा


विराटनगर । सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज २७ र २८ गते विराटनगरमा सम्मेलन हुन लागेको हो।

कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो। सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीसँगै मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवहरूको सहभागिता रहनेछ।

संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउँदै प्रदेशहरूबीच सहकार्य, समन्वय र साझेदारी बलियो बनाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको कोशी प्रदेश सरकारले जनाएको छ।

सम्मेलनमा प्रदेशहरूले शासन सञ्चालनका क्रममा भोगेका समस्या, सफल अभ्यास र साझा चुनौतीबारे छलफल हुनेछ। संविधानले दिएको प्रदेशको अधिकार कार्यान्वयन, संघ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्टता, कानुनी सुधार र वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयनका विषय पनि छलफलमा समेटिनेछन्।

त्यस्तै, अन्तरप्रदेश पूर्वाधार विकास, व्यापार तथा लगानी प्रवर्द्धन, प्राकृतिक स्रोतको न्यायोचित उपयोग, विपद् व्यवस्थापनमा सहकार्य र सार्वजनिक सेवा प्रवाह सुधारका विषयलाई समेत प्राथमिकता दिइनेछ।

सम्मेलनबाट साझा एजेन्डा, कार्ययोजना र प्रतिबद्धता तय गरी प्रदेशहरूबीचको सहकार्यलाई व्यवस्थित र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ। यसले संघीयताको सुदृढीकरण, सुशासन, दिगो विकास र नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने कोशी प्रदेश सरकारले विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार