काठमाडौं – स्थानीय तहको निर्वाचनपछि नेकपा (माओवादी केन्द्र) उत्साहित छ । २०७४ सालको स्थानीय निर्वाचनमा जितेको सिट संख्यामा थप गर्दै उसले आफूलाई तेस्रो शक्तिको रूपमा स्थापित गरेको छ ।
लथालिङ्ग पार्टी संरचना र भद्रगोल तालमेलबिच पनि पार्टीले ल्याएको नतिजाबाट सन्तुष्ट हुने धेरै ठाउँ रहेको पार्टीका केन्द्रीय सदस्य सुदन किराती बताउँछन् । समग्रमा गठबन्धनले देश, संविधान र व्यवस्थालाई फाइदा नै भएको उनको निष्कर्ष छ ।
एमालेलाई साइज डाउन गरेर उसको अहंकार कम गर्न पनि गठबन्धन सफल भएको किराती बताउँछन् । स्थानीय चुनाव, गठबन्धनको भविष्य, माओवादीको अबको रणनीतिलगायत विषयमा केन्द्रित रहेर गरेको कुराकानीको अंश यहाँ प्रस्तुत छ ।
गठबन्धन बनाएर चुनावमा जाँदाको परिणामलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
स्थानीय चुनावमा गठबन्धन बनाएर तालमेल गर्नु आफैँमा जटिल थियो । त्यतिबेला तालमेल गर्न समयसीमा असाध्यै छोटो थियो । विचारका हिसावले विविधता थियो । सबैलाई मिलाएर लैजान सजिलो थिएन । ठाउँ विशेषमा गठबन्धन भएपनि सबै ठाउँमा गठबन्धन हुन सकेन ।
जटिलताकाबिच तालमेल भएर चुनावमा जाँदा पनि एमालेको अहंकार डाउन भयो ।
स्थानीय चुनावको परिणामबारे के भन्नुहुन्छ ?
सुरुमा जति अपेक्षा गरेका थियौँ, त्यतिसम्म पुग्न सकेनौँ । राजनीतिक संघर्षका दृष्टिकोणले भने सफल भएको मान्नुपर्छ । केपी ओलीको प्रतिगमनकाविरुद्ध कठोरतापूर्वक लडेका थियौँ । प्रतिगामी तत्वलाई साइजमा राख्न सफल भएकाले राजनीतिक र वैचारिक रूपमा सफल भयौँ ।
ओलीले जसरी निरन्तर संविधान लोकतन्त्रमाथि प्रहार गरेका थिए, त्यो प्रतिगामी कदम थियो । त्यसकाविरुद्ध लोकतान्त्रिक वाम शक्ति बनाएर देशैभर आन्दोलनमा उत्रिएका थियौँ ।
समग्रमा गठबन्धनले देश, संविधान र व्यवस्थालाई फाइदा भयो । व्यक्ति र क्षेत्र विशेषको घाटा सहायक रहन्छ । माओवादीदेखि साना शक्तिलाई वैचारिक र राजनीतिक रूपमा धेरै फाइदा भयो ।
माओवादीले २ सय स्थानीय तह जित्ने दावी गरेको थियो । अन्तमा १२१ स्थानीय तह जितेर तेस्रो शक्ति भएको छ ।
जति गरे पनि माओवादीका स्थान तेस्रो पार्टी नै रहेछ है ?
देशीविदेशी प्रक्रियावादीले भनेका थिए, माओवादीले २० सिट कटाउँदैन । यो चुनावमा माओवादी समाप्त हुन्छ । माओवादी अब गुगल मात्रै भेटिन्छ । कहिले यता कहिले उता गरेर खाने प्रवृत्तिको अन्त्य हुन्छ भनेका थिए ।
आजको राजनीतिक वृत्तमा माओवादी निर्णायक शक्ति भएको छ भन्ने जनताले पुष्टि गरेका छन् । सिट संख्या तलमाथि हुने सामान्य कुरा हो । कुनै बेला माओवादी पहिलो शक्ति थियो अहिले तेस्रो शक्ति छ । फेरि पहिलो शक्ति भए अनौठो नमाने हुन्छ ।
माओवादीले कहिले एमाले कहिले काँग्रेससँग मिलेर कहिलेसम्म चल्ने हो ?
हामीले एमालेसँग गठबन्धन गरेर एकतासम्म जाने गरी चुनावी तालमेल गरेका थियौँ । देशमा राजनीतिक स्थायित्व होस्, संविधानको धरातलमा रहेर देशले आर्थिक उन्नति गरोस् भनेरै गठबन्धन गर्दै पार्टी एकतासम्म जाने भन्दै तालमेल गरेका थियौँ । त्यसले ठिक उल्टो बाटो लियो ।
ओलीले प्रतिगमन गरेपछि देश र जनताको पक्षमा संविधान र लोकतन्त्रको पक्षमा उभिनुपर्ने भयो । त्यसमा सर्वोच्च अदालतले पार्टी विभाजन गरेपछि माओवादी पुनर्गठन गरेर जानुपर्ने भयो ।
ओलीले जसरी निरन्तर संविधान लोकतन्त्रमाथि प्रहार गरेका थिए, त्यो प्रतिगामी कदम थियो । त्यसकाविरुद्ध लोकतान्त्रिक वाम शक्ति बनाएर देशैभर आन्दोलनमा उत्रिएका थियौँ ।
त्यो काम इतिहासको आवश्यकता थियो । त्यसमा इमानदारिता र देशभक्तिपूर्ण भाव उद्वेलित भएको देख्नुहुन्छ । अरूले परिभाषित गरेको जस्तो कहिले यता र कहिले यता हामीले गरेका छैनौँ र अवसरवादी चरित्र देखाएका छैनौँ ।
पार्टी अध्यक्ष प्रचण्ड मात्रै छन् । स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय समितिले पूर्णता पाएको छैन । पदाधिकारी बनाएको छैन । आफ्नै बलबुतामा चुनाव लड्ने माओवादीको दिन कहिले आउँछ ?
यस्तो परिस्थितिमा पनि आफ्नो बलमा तेस्रो शक्ति भएका छौँ । त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ । तपाईंले भने जस्तै पदाधिकारीले पूर्णता पाएको छैन । केन्द्रीय समितिले समेत पूर्णता पाएको छैन ।
प्रदेशमा एकाधले पूर्णता पाएको छैन । कतिपय राष्ट्रिय एजेण्डालाई थाती राखेर चुनावमा गयौँ । यस्तो असहज स्थितिमा पनि राम्रो नतिजा हासिल ग¥यौँ। पार्टी पदाधिकारी र निर्वाचन समीक्षा आगामी केन्द्रीय समितिमा गम्भीर छलफल गर्नेछौं ।
मधेस प्रदेशमा माओवादी बलियो छ भनिन्थ्यो । तर यो चुनावको परिणामले त त्यस्तो देखिएन ?
कैयन प्राविधिक कुरा मिलेन भन्ने प्रारम्भिक रिपोर्ट आएको छ । सहरमा भन्दा गाउँ । सहरमा माओवादी कसरी बलियो बनाउने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा छलफल गर्नेछौं ।
एकीकृत समाजवादीले काँग्रेस र माओवादीले भोटर मात्रै बनायो भनेर गुनासो गरेको छ । के तपाईंहरूले मत नदिएकै कारण एकीकृत समाजवादी सानो आकारमा खुम्चिएको हो ?
व्यक्तिव्यक्ति र क्षेत्रक्षेत्र सबैलाई हेर्यो भने सबैलाई असन्तुष्टि हुन्छ । हामीलाई पनि सन्तुष्टि छैन । समग्रमा हेर्यो भने त्यसलाई उपलब्धिमूलक मान्नुपर्छ । आंशिक रूपमा समीक्षा गर्दा के मिलेन कतै के मिलेन भन्दा त्यस्तो हुन सक्छ ।
हाम्रै भोजपुरमा गठबन्धनभित्रै मात्र तालमेल गर्ने भन्ने थियो । त्यो भन्दा बाहिर गएर काँग्रेसले एमालेसँग तालमेल गर्यो । समग्रमा हामीले चित्त बुझाउनु पर्छ, उहाँहरूले पनि चित्त बुझाउने ठाउँ छ ।
तपाईंकै नेताहरू एमालेका नेताहरूसँग दिनहुँ भेटघाट गरी राखेका छन् । आगामी संघ र प्रदेशको चुनावमा यहीँ पाँच दलीय गठबन्धनले निरन्तरता पाउँछ कि एमालेसँग तालमेल गर्ने अवस्था आउँछ ?
यो गठबन्धनले आगामी चुनावमा अझै ठोस आधार लिन्छ र लिनु पनि पर्छ । एमालेसँग पुनः तालमेल हुन्छ कि भनेर कतिपय चर्चा गर्छन् । तर ऊसँग तालमेल र एकता सम्भव छैन ।
एमाले कम्युनिस्ट मात्रै होइन वामपन्थी पार्टी पनि होइन । कम्युनिस्टहरू ध्रुवीकरणको प्रक्रियामा जानुपर्छ । अहिले केपी ओली नेतृत्वको पार्टीसँग सम्भव छैन । त्यता जानु पनि हुँदैन ।

849 पटक हेरिएको 




