काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन क्षेत्रमा काम गर्दा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताएका छन् ।
नेपाल पर्यटन बोर्डले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किराँतीले सुशासन विधिको शासनभन्दा बाहिर कोही चल्न नसक्ने बताए ।
उनले भने, ‘पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छु ।’
त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने उनले बताएका छन् । उनले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए ।
मन्त्री किराँतीले महाप्रवन्धक ठाकुरले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घुस लिने गरेकाले निलम्बन गरेको बताए । उनले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्नेकुरा स्पष्ट पार्नुपर्ने बताए ।
उनले भने, ‘मन्त्रीलाई पैसा बुझाउनु पर्ने, कहिले कहिले बुझाइयो । कोको लाई बुझाइयो । त्यो स्पष्ट हुनुपर्छ । ‘उनले आफूले कसैको पनि एकपैसा नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिए । उनले मन्त्री वा जिम्मेवार निकायको कुर्सीमा बसेर देशलाई धोका दिन नहुने बताए ।
उनले भने, ‘पैसा खानको निम्ति मन्त्री आएको हो भने जनताले सजाय गर्नुपर्छ । कुर्सीमा बसेर देशलाई धोका दिन पाइँदैन । कृपया कसैको पैसा चाहिँदैन ।’
मन्त्री किराँतीले कोही घुस खानको लागि मन्त्री हुन आए उसलाई जनताले सजाय दिने बताए । उनले आफूलाई पैसा नचाहिएको भन्दै कर्मचारीबाट पारदर्शी काम चाहिएको बताए ।
उनले भने, ‘ तपाईहरुले आफ्नो क्षमता योग्यता प्रदर्शन गर्नुस् । सञ्चालक समितिका साथीहरु नीतिमा काम गर्नुस् । कर्मचारी जस्तो नहुनुस् । तपाईहरुलाई नीति बनाउन पठाएको हो । कि तपाईहरुको पनि पार्टी मिलेन पार्टी फुट्यो । सञ्चालक समितिमा त्यस्तो होइन होला । यहाँ पनि विदेशी चलखेल के हुन्छ त्यहाँ भन्नुस् त ? कर्मचारीले पनि आफ्नो काम गर्नुपर्यो । आर्थिक अनुशासन हुनुपर्छ ।’
पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उनको भनाइ छ।
पर्यटन बोर्डको नीतिले निजी क्षेत्रलाई असहजता भइरहेको बताउँदै उनले भने, ‘पर्यटन व्यवसायीहरु समस्यामा छन् । पर्यटन व्यवसायीहरु ऋणको पासोमा छन् । उनीहरुको पीडा राज्यले नसुनिदिएको र राज्यले केही नगरेको जस्तो अन्यालता कसरी हुँदैछ । अहिले सानो दियो क्षितिजमा बलेको छ ।’
प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरुलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना पर्यटन मन्त्रालयले तयार पारेको उनले बताए ।

583 पटक हेरिएको 




