काठमाडौं। नेपालले टर्कीका भूकम्पपीडितलाई स्वास्थ्य सामग्री र न्यानो कपडा पठाउने भएको छ।
टर्किस एयरलाइन्सबाट सोमबार बिहान सामग्री पठाउन लागिएको हो। ती सामग्री विमानस्थलमा लोड भइरहेको छ।
टर्की सरकारको मागअनुसार ती सामग्री पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए।
शुक्रबार नै पठाउने भनिए पनि टर्कीले क्लियरेन्स दिन समय लगाएपछि केही दिन ढिला भए पनि पठाउन लागिएको हो।
नेपालले टर्कीलाई औषधिहरु, स्वास्थ्य उपकरणहरु र न्यानो कपडा पठाउने तयारी गरेको छ। त्यहाँ अहिले चिसो मौसम छ भने वर्षा र हिउँ पनि परिरहेको छ। त्यहाँको मौसम माइनस १० डिग्रीसम्म झरेको छ।
भूकम्पपीडितको उपचारमा आवश्यक औषधि, स्वास्थ्य उपकरण र न्यानो कपडाहरुमा ब्ल्यांकेट, ज्याकेट र ट्रयाकसुट पठाउन लागिएको हो।
टर्की सरकारले ती सामग्री तत्काल आवश्यक रहेको भन्दै परराष्ट्र मन्त्रालयमार्फत लेखिपठाएको थियो।
नेपालबाट स्वास्थ्यकर्मीसहितको उद्धार टोली पठाउने निर्णय भए पनि जनशक्ति भने अहिले आवश्यक नरहेको टर्कीले जवाफ दिएको छ।
टर्कीले जनशक्ति आवश्यक नपर्ने भनेपछि अहिले सामग्री मात्रै पठाउन लागिएको स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले बताए।
टर्की पठाउने जनशक्ति भने नेपाली सेनाले तयारी अवस्थामा राखेको थियो।
गत सोमबार टर्कीको सिरियासँगको सीमावर्ती सहर ग्याजिएन्टेपमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यहाँ अहिलेसम्म २९ हजार जनाको मृत्यु भइसकेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

534 पटक हेरिएको 




