न्यादीको आईपीओमा ६१ करोड बराबरको आवेदन


लमजुङ, १६ भदौ

न्यादी हाइड्रोपावरको आईपीओमा मंगलबार अन्तिम दिनसम्म ६१ करोड १३ लाख ३ हजार ८ सय रुपैयाँ बराबरको माग आवेदन परेको छ । आयोजनाको अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको पाँच लाख कित्ता शेयरको लागि दुई हजार नाै सय ५३ जना आवेदकबाट १६ करोड ३७ लाख १८ हजार एक सय रुपैयाँ बराबरको माग आवेदन परेको छ ।

जिल्लावासीका लागि छुट्याइएको १० लाख कित्ता शेयरको लागि २२ हजार दुई सय ३८ जना आवेदकबाट ४४ करोड ७५ लाख ८५ हजार सात सय रुपैयाँ बराबरको माग आवेदन परेको न्यादी जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले न्युज कारखानालाई बताए । उनकाअनुसार १ भदौबाट बिक्री खुला भएको आईपीओ भर्ने समय मंगलबार सकिएको छ ।

जिल्लाबासीको लागि कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता शेयर निष्कासन गरेको हो भने अति प्रभावित क्षेत्रका लागि पाँच लाख र संस्थापक शेयरधनीका लागि तीन लाख कित्ता शेयर प्रारम्भिक चरणमा निष्कासन गरेको हो । यसपछि कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने जनाएको छ । ०७३ चैतबाट निर्माण सुरु भएको आयोजनाको निर्माणकार्य सम्पन्न भएपनि ट्रान्समिसन लाइन र सबस्टेशनको काम सकिएसँगै केही महिनामा विद्युत उत्पादन गरिने आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए ।

आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो । बुटवल पावर कम्पनीको ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनीको दुई दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो । आयोजना कुल ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार लागतमा निर्माण भएको आयोजनाले जनाएको छ ।
न्युज कारखाना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार