सय दिनमा धेरै काम भएका छन्, दुई वर्षमा मोनो रेल सम्भव छ


सुरुवाती १०० दिनमा बाचा अनुसार काम गर्न नसकेको भनेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निकै आलोचना भइरहेको छ । आमसर्वधारण मात्र होइन, उनको चुनावी प्रतिस्पर्धीहरुले पनि शाक्यले सय दिन खेल फालेको टिप्पणी गरे ।

 

पछिल्लो दिनमा महानगरमा मेयर र उपमेयरवीचको द्वन्द्व सतहमै आउन थालेको छ । यसको परिणामस्वरुप कर्मचारीले काम नगर्ने, सडकमा फोहोर थुप्रिने र उपमेयरले बैठक बहिस्कार गर्नेसम्मका घटना हुन थालेका छन् ।

मेयर शाक्यले पनि सय दिनमा भनेजति काम गर्न नसकेको स्वीकार गरे । तर, बाहिर भनिए जस्तो केही काम नगरेको भने नभएएको भन्दै उनले क्लिन द सिटी अभियानमा ९९५ टन फोहोर संकलन भएको बताए । यिनै परिघटनाहरुको पृष्ठभूमिमा अनलाइनखबरले मेयर शाक्यसँग १०० दिने कार्यकालको अनुभवबारे संक्षिप्त कुराकानी गरेको छः

कस्तो रहृयो १०० दिन ?

कार्यकाल कस्तो रहृयो भन्ने …(हाँस्दै) कार्यकाल ठीकै रहृयो । जति आफूले सोचेको थिएँ, त्यति गर्न नसके पनि निराश छैन । गर्छु भन्ने लागिरहेको छ ।
केही समस्या छन् । फोहोरको समस्या आएको छ, हिजो पनि गृहमन्त्रीलाई भेटेर फोहोर व्यवस्थापनमा सहयोग गर्नुपर्‍यो भनेको छु । नियोजित ढंगबाट एकपछि अर्को अकल्पनीय समस्या पनि आएका छन् ।

काम गर्न खोज्दा दिएनन् भन्नुभएको हो ?

(हाँस्दै) चुनावमा सहयोग गर्ने थुप्रै थिए । एकछिन भए पनि आइदिनुपर्‍यो, ५ मिनेट भए पनि आइदिनुपर्‍यो भन्छन् । ५ मिनेट भनेर गएपछि एक घण्टा लाग्ने । त्यसले पनि अलिकति डिस्टर्ब भयो

त्यस्ता पनि केही छन् । हाम्रो र कर्मचारीको स्पिरिट मिल्न सकेको छैन । हामीले एउटा सोच्छौं, गर्ने बेलामा अर्कै भएको छ । कर्मचारी सरुवालाई लिएर साथीहरुले केही दिनदेखि काम गरिरहेका छैनन् । युनियनले जे भन्छ, त्यही हुनुपर्छ भनिरहेका छन् । मेरो भनाइ, जनमतले जितेको म, मेरो योजना लागू हुनुपर्छ भन्ने छ ।

उपमेयरसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँग पनि मतभेद सुरु भएको छ । उहाँहरुले कार्यपालिका बैठक नै बहिस्कार गर्नुभएछ…

उहाँहरुको सरुवाकै विषयमा हो । उहाँहरुले भन्नुभएको थियो, सरुवा मिलाएन भने सडकमा फोहोरको डंगुर थुपार्छौं । मैले त्यस्तो होइन, मिलेर जानुपर्छ । फोहोरको राजनीति होइन, विकासको राजनीति गर्नुपर्छ भनेको थिएँ । संयोग भनौं कि के हो, फोहोर थुप्रँदैै गएको छ ।

तर, उपमेयरले त कार्यपालिका बैठक बस्नुअघि एजेण्डासम्म जानकारी दिनुभएन, एकलौटी रुपमा चल्नुभो भन्नुभएको छ त ?

उपमेयरलाई सबै जानकारी छ । एजेण्डाको सबै कपी नै उहाँले लिएर जानुहुन्छ र आफ्नो बैठक बसेर आउनुहुन्छ । अहिले दिएको एजेण्डामा उपमेयरले मेरो एजेण्डा भनेर दिएको पनि आएको छ । अब कसरी उहाँलाई जानकारी छैन भन्ने ?

तपाईले नै उपमेयरलाई सोध्नुस्, तपाईले मेरो एजेण्डा भनेर दिएका विषय नै एजेण्डामा आएका छन् भने कसरी थाहा छैन भन्ने ?

उसोभए, चुनाव सकिएको १०० दिनमा पनि तपाईहरुको प्रतिस्पर्धा सकिएको छैन, कुनै न कुनै रुपमा जारी छ ?

राजनीतिमा यो स्वाभाविकै हो । फरक आस्था भएपछि अगाडि बढ्दा तान्न खोज्ने प्रवृत्ति नै हुँदोरहेछ ।

तर, यसले त विकास र सम्वृद्धिको जन अपेक्षामा घात होला नि ?

म अब जनअपेक्षा अनुसार जाने कि कर्मचारी र युनियनले भने अनुसार सरुवा बढुवा गर्दै जाने हो ? जनअपेक्षा अनुसार चल्न मेरो योजनालाई उहाँहरुले कार्यान्वयन गर्ने हो । तर, उहाँहरुले नै गाइड गरेर यसरी गर्नुपर्छ भनेपछि गाह्रो हुन्छ ।

अहिले पनि उपमेयरसहित कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुको भनाइ त्यही हो, सरुवा कार्यपालिका बैठकबाट निर्णय गरेर गर्नुपर्छ । तर, कार्यपालिका बैठकबाट सरुवाको निर्णय गरेको मलाई जानकारी छैन । म पनि दुई वडाध्यक्ष भइसकेको मान्छे हुँ, त्यस्तो नजिर थाहा छैन ।

अस्ति, युनियनका साथीहरुले विचारकै आधारमा पेले भनेपछि मैले भनें- म त सबै चिन्दिँन, बरु कांग्रेसकै धेरै छन् भन्छन् । को-को कांग्रेस, एमाले, माओवादी हुन् चिन्ह लगाएर ल्याउनु । उहाँहरुले त्यो पनि ल्याउनुभएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार