काठमाडौं – नेपाल राष्ट्र बैँकले जारी गरेको नागरिक बचतपत्रको आवदेन अनलाइनमार्फत गर्न सकिने भएको छ । यससँगै विदेशमा रहेका नेपालीले अनलाइनमार्फत बचतपत्र किन्न सक्नेछन् । यसअघि आवश्यक कागजातसहित भौतिक रूपमै बचतपत्र किन्ने व्यक्ति बैँकमा उपस्थित हुनुपर्ने थियो ।
राष्ट्र बैंकले नागरिक बचतपत्रको बिक्री चैत १ गतेदेखि खुल्ला गरेको छ । बचतपत्रमा चैत २० सम्म आवेदन दिन सकिन्छ । पहिलो चरणमा दुई अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्रीका लागि आवेदन संकलन सुरु गरिएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
बचतपत्र डिम्याट भइनसकेकाले प्रमाणपत्र लिन भने बैंकमै पुग्नुपर्नेछ । राष्ट्र बैंकले चौथो त्रैमासको सुरुमै अनलाइनमार्फत नै वैदेशिक रोजगार बचतपत्र पनि बिक्री गर्ने तालिका छ ।
‘यो बचतपत्र खरिद गर्न व्यक्ति नेपालभित्रै रहनुपर्ने र आवश्यक कागजात भौतिक रुपमै बुझाउनुपर्ने अवस्था अब छैन,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले भने, ‘राष्ट्र बैंकको वेबसाइटमा गएर स्वदेश–विदेश जहाँ भए पनि आफूलाई पायक पर्ने समयमा फारम भरेर बचतपत्र किन्न सकिन्छ ।’ यस्तो व्यवस्थाले स्वदेशमा रहेर पनि भौतिक रुपमा उपस्थित हुन नसक्ने र विदेशमा रहेका नेपाली नागरिकले भरपुर लाभ लिन सक्ने उनको दाबी छ ।
‘नागरिक बचतपत्र २०८३ क’ नाम दिइएको उक्त बचतपत्रमा घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमभन्दा नबढाई १० हजार रुपैयाँले भाग निशेष जाने रकम लगानी गर्न सकिने सूचनामा उल्लेख छ । चैत ३० गते बचतपत्र निष्कासन गरिने राष्ट्र बैंकले जनाएको छ ।
बचतपत्र परिपक्व हुने अवधि ५ वर्षको हुन्छ । यसमा लगानी गरेपछि वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ । ब्याज हरेक ६/६ महिनामा पाइन्छ । प्राप्त ब्याजमा ५ प्रतिशत लाभकर लाग्छ ।
आवश्यक परेका बेला बिक्री गर्न र बैंक तथा वित्तीय संस्थामा यो बचतपत्र धितो राखेर कर्जा लिन पनि सकिन्छ । उल्लिखित कारणले केही लामो समयसम्मका लागि लगानीका क्षेत्र खोजिरहेका नेपालीका लागि नागरिक बचतपत्र उपयुक्त औजार रहेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्थाको घोषणा गरेको थियो । सोहीअनुसार मुद्रा व्यवस्थापन विभागले आवश्यक प्राविधिक व्यवस्था मिलाएको हो ।
तर बचतपत्र डिम्याट भइनसकेकाले प्रमाणपत्र लिन भने बैंकमै पुग्नुपर्नेछ । राष्ट्र बैंकले चौथो त्रैमासको सुरुमै अनलाइनमार्फत नै वैदेशिक रोजगार बचतपत्र पनि बिक्री गर्ने तालिका छ ।