यी हुन चिनियाँ विदेशमन्त्रीको भ्रमणमा हुने १० सहमति

केरुङ–रसुवागढी सीमापार रेलको विस्तृत सम्भाव्यता अन्तर्गत प्राविधिक पक्षबारे सहमति पत्रमा समेत भ्रमणका क्रममा शनिबार हस्ताक्षर हुने भएको छ

  अनलाइन हिमाल  302 पटक हेरिएको

काठमाडौं – शुक्रबार काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा १० वटा सहमतिमा हस्ताक्षर गर्ने तयारी भइरहेको सरकारी स्रोतले जानकारी दिएको छ ।

चीनले नेपाललाई दिँदै आएको १३ अर्ब रुपैयाँको वार्षिक सहायता राशी बढाएर १५ अर्ब पुर्‍याउने भएको छ ।

चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा घोषणा भएको ५६ अर्ब अनुदान सहयोग कार्यान्वयनको विषयमा छलफल हुने तय भएको परराष्ट्र अधिकारीहरुले जानकारी दिएका छन् ।

केरुङ–रसुवागढी सीमापार रेलको विस्तृत सम्भाव्यता अन्तर्गत प्राविधिक पक्षबारे सहमति पत्रमा समेत भ्रमणका क्रममा शनिबार हस्ताक्षर हुने भएको छ।

त्यस्तै, मुस्ताङस्थित कोरला सीमा नाका सुचारु भएको घोषणा गर्ने सहमति पत्रमा पनि हस्ताक्षर गर्ने तयारी भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस्तै ऊर्जासम्बन्धी परियोजनामा पनि भ्रमणका क्रममा हस्ताक्षर हुनेछ ।

भ्रमणका क्रममा भरतपुर क्यान्सर अस्पतालसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारीसमेत छ । नेपालबाट चीनतर्फ विकासे घाँस निर्यात गर्नेसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने भएको छ ।

त्यस्तै, वाङले नेपालका विद्यार्थीलाई चीनमा चाँडै फर्काउन तयार रहेको घोषणा परराष्ट्रमन्त्री नारायण खड्कासँगको द्विपक्षीय छलफलका क्रममा गर्ने भएका छन् । वाङले चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने कार्यक्रम पनि छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार