काठमाडौं – आधिकारिक गैरआवासीय नेपाली संघ (एनआरएनए) आफू भएको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा शेष घले पक्ष पुगेको छ । आइतबार अध्यक्ष विनोद कुँवरको नेतृत्वमा परराष्ट्र मन्त्रालयमा पुगेर काठमाडौंको याक एण्ड यतिमा सम्पन्न महाधिवेशनबाट भएको निर्णयलाई वैधानिकता दिन माग गर्दै निवेदन दर्ता भएको हो ।
मार्च २४ तारिखका दिन एनआरएनएका प्रमुख संरक्षक शेष घलेको अगुवाइमा १० औं विश्व सम्मेलन गरेर कुँवरलाई अध्यक्ष चयन गरिएको थियो । निवेदनमा संघको विधानका केही व्यवस्थालाई संशोधन गर्ने निर्णय भएकाले त्यसलाई प्रमाणीकरण गर्न भनिएको छ । जबकी संस्थापनले हाल कायम विधानको व्यवस्थालाई परिवर्तन गरी संस्थामा तीन जना अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
शनिबार ललितपुरको होटल हिमालयमा भएको विश्व सम्मेलनले संघको विधान संशोधन गरेर भविष्यमा नजिर नपर्ने गरी तीन अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यसका लागि उपेन्द्र महतोको नेतृत्वमा ७ सदस्यीय निर्वाचन मण्डल समेत घोषणा गरिएको थियो ।
सो निर्णयपछि घले समूहले आफूलाई आधिकारिक दाबी गर्दै संस्थापन समूहभन्दा पहिले परराष्ट्र मन्त्रालयमा पुगेर विधानमा एकभन्दा बढी अध्यक्ष चयन गरिनु अवैध हुने ठहरसहित निवेदन दिएको हो । संस्थापनले हलबाट गरेको निर्णय परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गर्नुपर्ने भएकाले सो अघि नै घले पक्ष परराष्ट्रमा पुगेर बखेडा झिकेको हो ।


482 पटक हेरिएको 




