एक राजनीतिक जोधाहा, सशस्त्र कमाण्डरदेखि गाउँपालिका अध्यक्षको जिम्मेवारीमा

अघिल्लो स्थानीय तह निर्वाचनमा ८ मतले हारेका थामबहादुरलाई गएको २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमार्फत गाउँपालिकाबासीले अध्यक्षमा अनुमोदन गरेका छन्

  अनलाइन हिमाल  907 पटक हेरिएको

काठमाडौं – २०७४ सालको स्थानीय तह निर्वाचनमा झिनो मतान्तरले भोजपुरको रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित हुन नसकेका थामबहादुर राई (निर्माण किराती)ले हारपछि गाउँ छाडेर भागेनन् ।

प्रतिपक्षमा बसेर उनले स्थानीयको अधिकार र समस्या समाधानका निम्ति जोधाहा बनेर दिनरात नभनी काम गरिरहे । परिणामस्वरुप अघिल्लो स्थानीय तह निर्वाचनमा ८ मतले हारेका थामबहादुरलाई गएको २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमार्फत गाउँपालिकाबासीले अध्यक्षमा अनुमोदन गरेका छन् ।

त्यही भूगोलमा हुर्केर झण्डै तीन दशकदेखि राजनीति गरिरहेका थामबहादुर माओवादी जनयुद्धका बेला सेक्सन कमाण्डरको जिम्मेवारीमा थिए । अनेक पटक जेलनेल भोगेका उनको जिम्मेवारी अहिले फेरिएको छ ।

सधैँ प्रतिपक्षमा बसेका उनलाई गाउँपालिकाबासीले २००७ सालको क्रान्तिका जननायक रामप्रसाद राई र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको थातथलो रामप्रसाद राई गापाको कमाण्ड सम्हाल्ने जिम्मेवारी सुम्पेका छन् ।

को हुन् थामबहादुर उर्फ निर्माण ?

तीन वर्षसम्म पार्टीको वडा कमिटीमा रहेर काम गरेका निर्माण २०५१ सालमा नेकपा (एमाले)मा संगठित भएका हुन् । त्यसपछि भने उनी गोपाल खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मुक्ति मोर्चामा संगठित भए ।

मोर्चामा आवद्ध उनी २०५७ भदौ १८ देखि भूमिगत भएका थिए । भूमिगत गतिविधिमा सक्रिय रहँदा २०५८ असार २७ गते धरानको बुद्धचौकबाट गिरफ्तारीमा परेका थिए । त्यसबेला उनले हिरासतमा १५ दिनसम्म कष्टकर यातना बेहोरेका थिए ।

खम्वुवान र लिम्वुवानको एकता भई बनेको किराती राष्ट्रिय मुक्ति मोर्चा, तत्कालिन भूमिगत पार्टी नेकपा माओवादीसँग एकता र पुनः गोपाल खम्वुको नेतृत्वमा पुर्नगठित किरात वर्कस् पार्टीमा सक्रिय रहेका थिए । नेकपा माओवादीसँग एकता भई जनमुक्ति सेनाको सेक्सन कमाण्डर हुँदा विभिन्न मोर्चामा संलग्न थिए ।

गाउँपालिकाले स्वास्थ्य र शिक्षामा विशेष जोड दिने गरी थामबहादुरले योजना बनाएका छन् । कृषि, युवा स्वरोजगार र जेष्ठ नागरिकलाई पनि लक्षित गरी कार्यक्रम बनाइएको छ ।

सिन्धुलीको इलाका प्रहरी चौकी, भोजपुरको रिपिटर टावर, पान्धारे मोर्चा, घोरेटार बेसक्याम्प आक्रमणमा उनले सफल कमाण्डरको भूमिका निर्वाह गरेका थिए । २०६२ सालमा जिल्ला जनसरकार प्रमुखको जिम्मेवारीसमेत पाएका थिए । त्यही वर्ष उनले दश तारा जनसांस्कृतिक परिवारको जिम्मेवारी पाए ।

थुप्रै चिरामा विभाजन हुँदा पनि संस्थापन धार नछाडेका निर्माणलाई अहिले पार्टीले प्रदेश नम्बर १ को सचिवालय सदस्य र भोजपुर जिल्लाको सहइन्चार्जको जिम्मेवारी दिएको छ ।

पहिलो निर्णय : सुरक्षा भत्ता वडाबाटै, स्वयंसेविकालाई दैनिक भत्ता

नवनिर्वाचित अध्यक्ष थामबहादुरले स्थानीय तह निर्वाचनको घोषणा पत्रमा उल्लेख गरिएका कामको सुरुवात गरेका छन् । अध्यक्ष पदको सपथ लिँदै उनले दुई वटा महत्त्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन् ।

निर्णयानुसार नयाँ आर्थिक वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाले दैनिक एक सय रुपैयाँका दरले खाजा भत्ता पाउने छन् । त्यसैगरी सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरण गरिनेछ ।

‘सामाजिक सुरक्षा भत्ता लिन घण्टौं लगाएर बैँक धाउनु पर्ने बाध्यता रहेकाले वृद्धवृद्धालाई समस्या भयो’, नवनिर्वाचित अध्यक्ष राईले भने, ‘मासिक १५ सय रुपैयाँ पाउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई दैनिक खाजा भत्ता पनि उपलब्ध गराइने छ ।’

चुनावी घोषणापत्रमा उल्लेख गरिएका सबै कार्यक्रम लागु गराउने अध्यक्ष राईले बताए । ‘स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । यसले नागरिकको आवाज बोल्नुपर्छ’, नवनिर्वाचित अध्यक्ष राईले भने, ‘स्थानीय सरकारले नागरिकको आवश्यकता अनुसार काम गर्नुपर्छ ।’

स्वास्थ्य, शिक्षा, कृषि र युवा स्वरोजगारमा जोड

सादगी जीवन जिउने थामबहादुरले जनताको कामलाई उच्च प्राथमिकतामा राखेका छन् । २०६८ सालमा आफ्नै गाउँपालिमा जनताको मुद्दा मिलाउने क्रममा उनलाई पछाडिबाट आक्रमण भएको थियो । त्यति हुँदासमेत उनी विचलित भएनन् ।

गाउँपालिकाले स्वास्थ्य र शिक्षामा विशेष जोड दिने गरी थामबहादुरले योजना बनाएका छन् । कृषि, युवा स्वरोजगार र जेष्ठ नागरिकलाई पनि लक्षित गरी कार्यक्रम बनाइएको छ ।

‘स्वास्थ्य, गुणस्तरीय शिक्षा र कृषिमा ग्रामीण जनस्तर उकास्ने गरी काम गर्नुपर्ने भएको छ,’ आफूले घोषणापत्रमा उल्लेख गरेका गर्नुपर्ने कामको फेहरिस्त सुनाउँदै उनले भने । यी कार्यक्रम कार्यान्वयन गर्न थामबहादुरले भोजपुर र खोटाङको सिमानामा पर्ने पाप्माखाम गढि तथा जनतालाई साक्षि राखेर भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने कसम खाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार